धनुषा । जनकपुरधाममा नुहाउने क्रममा पोखरीमा डुबेर एकै घरका दुई जुम्ल्याहा बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।
शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मा.वि. अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याएका थिए ।
उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।
बालकको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।