काठमाडौं । कपनको सरस्वतीनगरस्थित भाँडा पसले निरु भन्ने नीरा पाण्डेको हत्यामा संलग्न रहेका एक व्यक्ति झापाबाट पक्राउ परेका छन् । झापाको धुलाबारी १० घर भएका विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदै छ ।
उनले निरुले लगाएको सिक्री लुटपाट गर्ने उद्देश्यले चक्कु हानेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि सिक्री लुटेर उनी फरार भएका थिए ।
वैशाख ७ गते दिउँसो निरुको ज्यान लिएका विनोद वैशाख १४ गतेसम्म काठमाडौंमै थिए । तत्कालै भागेर भारततिर जान खोज्दा नाकामा समात्न सक्ने भएकाले आफू एक सातासम्म काठमाडौंमै बसेको बयान विकले प्रहरीलाई दिएका छन्।
निरुबाट लुटिएको करिब ९९ हजारको सिक्री वैशाख १३ तारकेश्वरको पाथीभर ज्वेलर्समा बेचेपछि मात्रै उनी वैशाख १४ मा झापातिर लागेका थिए।
उनी झापा पुगेपछि विर्तामोडस्थित इलाम बसपार्कमा रहेको एक होटलमा बसेका थिए। तर प्रहरीले उनलाई त्यहीँबाट शनिबार राति १० बजे पक्राउ गरेको छ।
ठमेलस्थित बाउन्सरको जागिर पनि गएपछि उनी बेरोजगार थिए। त्यहीकारण उनी वैशाख सुरुदेखि नै भक्तपुरको लोकन्थलीस्थित साथीको कोठामा बसिरहेका थिए।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले आर्थिक अभाव भएपछि चलाउँदै गरेको मोबाइल फोन पनि बेचेका थिए।
तर निरुबाट लुटेको करिब एक तोलाको सिक्री ५५ हजारमा बेचेर उनले १० हजारको नयाँ मोबाइल फोन किनेका थिए।
प्रहरीका अनुसार निरुको हत्याका क्रममा रगत लागेको सर्ट लोकन्थलीस्थित साथीको घरमा भेटिएको छ। उता हत्यामा प्रयोग गरिएको चक्कु भने उनले मनोहरा खोलामा लगेर फालेको बयान प्रहरीलाई दिएका छन्।