काठमाडौँ । बागलुङ जैमिनी नगरपालिका घर भई काठमाडौँमा कार्यरत मेडिकल डाक्टरमाझ भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
जैमिनी नगरपालिकाको आयोजनामा २०८० वैशाख ९ गते शनिबार ठमेलको एक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
भेटघाटमा नगर प्रमुख मेयर नरबहादुर पुनले आफूहरूले विज्ञका सुझाव, चुनावमा व्यक्त गरिएको प्रतिबद्धता र पछिल्लो कार्यकालको अनुभवको आधारमा काम गर्ने बताउनुभयो ।
उहाँले जैमिनी नगरपालिकाले चार प्राथमिकता निश्चित गरेका जानकारी दिनुभयो । ‘स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन हाम्रा चार मुख्य प्राथमिकता हुन्’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नगर प्रमुख पुनले जैमिनी नगरपालिकामा आम जनताको स्तरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो भेटघाटको आयोजना गरिएको बताउनुभयो ।
‘स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो’ प्रमुख पुनले भन्नुभयो– ‘हामी चाहन्छौँ, अब जन्मिने बच्चा र आमा दुवै स्वस्थ रहुन् । त्यसका लागि हामी तपाईंहरूसित सहयोगको अपेक्षा गर्दछौँ ।’
नगर उपप्रमुख हरिहर शर्माले संयोजन गर्नुभएको उक्त कार्यक्रममा डाक्टरहरूले आम जनतामाझ स्वास्थ्यको प्रत्याभूतिका लागि सर्वप्रथम भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, चिकित्सकमैत्री वातावरण निर्माण गर्नुपर्नेलगायतका सुझाव राखेका थिए ।
कार्यक्रममा दर्जनौँ विशेषज्ञ डाक्टरको उपस्थिति थियो । सबै डाक्टरहरूले आआफ्नो क्षेत्रबाट योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
