कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिकहरुले बाघलाई लठ्याएर नियन्त्रणमा लिएका हुन् ।
शनिबार विहान डार्ट गरेर बाघलाई लठ्याएर नियन्त्रणमा लिएको सव वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले बताउनुभयो ।
अहिले बाघलाई पिँजडामा राखिएको छ। डार्टको असर तीन घण्टासम्म रहन्छ । बाघलाई शुक्लाफाँटा छाड्ने तयारी छ ।
नरभक्षी बाघ नियन्त्रण गर्न हात्तीसहित स्थानीय र सुरक्षाकर्मीले हिजो दिनभर घेराबन्दी गरेका थिए । त्यसक्रममा आक्रमण गर्न खोज्दा ६ राउण्ड हवाइ फायर गरिएको थियो ।
बाघ नियन्त्रणमा आएपनि बाघले लगेकी महिला भने अझै भेटिएकी छैनन्। शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन्।
शुक्रबार दिनभर प्रहरी र स्थानीयले खोजी गरे पनि उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान ११ बजेतिर चार/पाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो। बाघ नियन्त्रणमा आएसँगै बेपत्ता महिलाको खोजी जारी रहेको छ ।