काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले सुनसरीका सुकुम्बासी बस्ती भत्काइएकोमा विरोध गरेको छ ।
महासचिव तुलसिराम सापकोटाको हस्ताक्षरमा २०८० वैशाख ८ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै अप्फाले विरोध व्यक्त गरेको हो ।
देशको जुनसुकै स्थानमा पनि बस्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै अप्फाले सम्भव भएसम्म ती सुकुम्बासीलाई सोही स्थानमा बस्न दिनुपर्ने, सम्भव नभए वैकल्पिक व्यवस्था गर्नुपर्ने बताएको छ ।
त्यसो नगरेर डोजर लगाएर बस्ती उठिबास गरेकोमा प्रेसवक्तव्यमा सुकुम्बासीको स्थायी बसोबासको व्यवस्था गर्न माग गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“यही २०८० वैशाख ७ गते सुनसरी जिल्लामा झन्डै ५० वर्षदेखि बसोबास गर्दै आइरहेका सुकुम्बासीमाथि नेपाल सरकारद्वारा डोजर लगाई घर भत्काउने र उठिबास लगाउने कार्यप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) को गम्भीर ध्यानाकर्षण भएको छ ।
कुनै पनि नेपाली नागरिकलाई आफ्नो देशमा बसोबास गर्न पाउनु नैसर्गिक अधिकार हो । ५० वर्षदेखि बसोबास गर्दैैै आएका नेपाली नागरिकलाई उठिबास लगाउने कार्य गैरजिम्मेवार र आपत्तिजनक हो । उनीहरूलाई सरकारद्वारा गठित भूमि आयोगद्वारा स्थायी बसोबासको प्रबन्ध मिलाउनुपर्दछ । उक्त स्थानमा स्याथी बसोबासको प्रबन्ध मिलाउन नसकिने भए त्यसको वैकल्पिक व्यवस्था मिलाइनुपर्दछ । त्यसो नगरिकन एक्कासि डोजर लगाई घर भत्काउने, अलपत्र पार्ने वा उठिबास लगाउने जुन कार्य भएको छ, त्यसको अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले घोर आपत्ति र विरोध गर्दछ ।
उक्त बस्तीलाई पुनर्निर्माण गरी स्थायी बसोबासको व्यवस्था मिलाउन नेपाल सरकारसँग सङ्घ जोडदार माग गर्दछ ।”