काठमाडौं । द्वन्द्वपीडित संघर्ष समितिले संसदमा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । संघर्ष समितिले मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।
समितिले आफूहरुले शान्तिपूर्ण रुपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताए।
आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै द्वन्द्वपीडित परिवार सदस्य शोभा बिसीले टिआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताइन् । उनले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको बताइन्। उनले आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताइन् ।
उनले भनिन्, ‘हामी २७ दिन भयो टिआरसी सम्बन्धी विधेयक जुन सरकारले अहिले ल्याएको छ, हामीले शान्तिपूर्ण ध्यानाकर्षण गराउँदा पनि राज्यले बल प्रयोग गरेको छ ।’
उनले द्वन्द्वकालमा आफ्ना श्रीमान किन मारेको? भन्दै सरकासँग प्रश्न गरिन् । उनले श्रीमान मारिको कारण आफूहरुले जान्न पाउनुपर्ने भन्दै पीडकलाई उन्मुक्ति दिने किसिमको विधेयक ल्याए आफूहरुको विरोध जारी रहने चेतावनी दिइन्। उनले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने पीडितहरुको माग रहेको बताइन्।
उनले भनिन्, ‘विधेयकमा पीडकलाई उन्मुक्ति दिने कुरा छ। हाम्रा श्रीमान किन मारियो, हामीले जान्न पाउनुपर्छ, त्यस्तो खालको विधेयक ल्याइन्छ भने त्यसको घोर बिरोध गर्दछौँ। राज्यले उहाँहरुलाई अर्को आरोप लगाएर भित्र राख्ने काम गर्नसक्छ, त्यस्तो भए हाम्रो अर्को विरोध शुरु हुन्छ। यो विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने हाम्रो माग हो।’
प्रदर्शनमा उत्रिएकाहरुले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोई? लुटिएको सम्पती फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ? घाइते, अपाङ्ग र अशक्त पारिएकाहरुको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
केही समय यता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था लगायत द्वन्द्वपीडित परिवारका सदस्यहरुले टिआरसीसँग सम्बन्धित विधेयकको बिरोध गर्दै आएका छन्।