भरतपुर । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनले राजनीतिक गतिविधि बढाएको छ ।
उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्माको उम्मेदवारी घोषणा गरेको राष्ट्रिय जनमोर्चाले यही चैत १८ गते (शनिबार) आम भेला गर्ने भएको छ । सो भेलामा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सहभागी हुने कार्यक्रम छ ।
भेलामा चितवनसहित आसपासका जिल्लाबाट समेत नेता कार्यकर्ता सहभागी हुने महासचिव भट्टले जानकारी दिनुभयो । भेलाले निर्वाचनको प्रचार प्रसारसम्बन्धी रणनीति बनाउने छ ।
यसअघि सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएको थियो ।
सो क्षेत्रबाट लामिछाने पुनः उठ्ने चर्चा छ भने नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
राष्ट्रिय जनमोर्चाले लामिछानेको पार्टी ‘अमेरिकी साम्राज्यवादबाट सञ्चालित’ भएको भन्दै निर्वाचनमा त्यसको भण्डाफोर गर्ने जनाएको छ ।
वैशाख १० गते चितवन २ सहित तनहुँ १ र बारा २ मा पनि उपनिर्वाचन हुँदैछ ।