काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले धनगढीका स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि तलब नपाएको प्रशंग संसदमा उठाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा धारणा राख्दै केसीले धनगढीमा स्वास्थ्यकर्मीलाई विगत ६ महिनादेखि तलब नदिएरै काममा खटाइएको बताउनुभयो ।
अध्यक्ष केसीले ‘संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिए पनि हुन्छ कि?’ भनी व्यंग्य पनि गर्नुभयो ।
केसीले भन्नुभयो, ‘धनगढी उपमहानगरपालिकामा ५५ जना स्वास्थ्य कर्मचारीहरु छन् । केन्द्रले खटाएका उनीहरुले ६ महिना भयो तलबै पाएका छैनन् । खटाउनेले तलब खाएर उहाँहरुलाई खटाइ रहेको हो कि के हो ? यो संघीय प्रणाली भएपछि कर्मचारीलाई तलब नदिए पनि हुन्छ कि ? यसकारणले सम्माननीय सभामुखमार्फत ती ६ महिनादेखि बिना तलब दुःख कष्ट भोगिरहेका कर्मचारीहरुलाई यथासिघ्र सरकारले तलब भुक्तानी गरोस् ।’
धनगढी उपमहानगरपालिका अन्तर्गत कार्यरत ५५ जना स्वास्थ्यकर्मीले विगत ६ महिनादेखि तलब नपाएको भन्दै गएको आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।
उनीहरुले काम ठप्प पारेर उपमहानगरपालिकाको प्रांगणमा भेला भइ हातमा कालोपट्टि बाँधेर धर्ना सुरु गरेका हुन् । यसअघि उनीहरुले शनिबार धनगढीका मेयर गोपाल हमाललाई ज्ञापन पत्र बुझाएका थिए ।
कर्मचारी समायोजन ऐन अन्तर्गत उपमहानगरपालिकामा समायोजन भएका स्वास्थ्यकर्मीहरुको तलब भत्ता संघीय सरकारले व्यवस्था गर्नुपर्ने भएपनि बजेट नपठाएका कारण आफूहरुले समयमै पारिश्रमिक पाउन नसकेको सिनियर अनमी निरीक्षक गीता भट्टले बताउनुभयो । उहाँका अनुसार कर्मचारीहरुले गएको असोज महिनादेखि तलब पाउन बाँकी छ ।
स्वास्थ्यकर्मीहरुले चालू आर्थिक वर्षको तलब तत्काल व्यवस्था गर्न र आगामी आर्थिक वर्षमा संघीय सरकारबाट बजेट नआए स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग आन्दोलनरत कर्मचारीले गरेका छन् ।
धनगढीका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएनन्