काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटाले कृषि उत्पादन बढ्यो भने मात्रै देशको औद्योगिकीकरण हुने धारणा व्यक्त गर्नुभएको छ ।
छ किसान सङ्गठनको आजोजनामा २०७९ चैत ८ गते राजधानीको माइतिघर मण्डलामा आयोजित विरोधसभामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘देशको औद्योगिकीकरणका लागि कृषि उत्पादनमा वृद्धि हुनुपर्दछ’ उहाँले भन्नुभयो– ‘जुनसुकै देशको पनि समृद्धि कृषि उत्पादनबाट सुरु हुन्छ ।’
उहाँले अमेरिका, बेलायत, भारतलगायतका देशको समृद्धि कृषि उत्पादनबाटै सुरु भएको बताउनुभयो ।
‘अमेरिकाले, बेलायतले पहिले पहिले कृषि उत्पादनमै जोड दिएका थिए । पछि ती देशहरूको औद्योगिकीकरण भयो’ उहाँले भन्नुभयो–
छिमेकी देश भारतकै कुरा गरौँ । त्यो देश अहिले पनि कृषिप्रधान देश हो तर त्यही कृषि उत्पादनको भर गरेर भारतको औद्योगिकीकरण भइरहेको छ ।’
महासचिव सापकोटाले नेपालका शासकहरू विदेशी बहुराष्ट्रिय कम्पनीको संरक्षणमा बस्ने भएकाले कृषिको विकासमा ध्यान नदिने गरेको आरोप लगाउनुभयो ।
‘लगभग ६६ प्रतिशत नेपाली जनता किसान छन् तर सरकाले अहिलेसम्म कृषिमल कारखाना खोल्न सकेको छैन’ उहाँले प्रश्न गर्नुभयो– ‘कृषिमल कारखाना किन खोलिएको छैन ? प्रष्टै छ नि, विश्व व्यापार सङ्गठनमा सामेल भएकाले र बहुराष्ट्रिय कम्पनीको हितसाधनन गर्नकै लागि मल कारखाना नखोलिएको हो ।’
सम्बोधनको क्रममा महासचिव सापकोटाले देशमा १७ लाखको हाराहारीमा सुकुम्बासी भएर पनि जमिन नपाएको तर पहाडमा जमिन बाझै रहेको बताउनुभयो ।
सरकारले कृषिक्षेत्रलाई बेवास्ता गरेकै कारण छ किसान सङ्गठनले ५९ बुँदे मागमात्र तयार गरेर आन्दोलनको सुरुआत गरेको पनि बताउनुभयो ।
उहाँले छ किसान सङ्गठनका ५९ बुँदे मागहरू तत्कालै पूरा गर्न सरकारसित आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले महङ्गी र मिटरब्याजी समस्याको मारमा नेपाली किसान परेको बताउनुभयो ।

उहाँले सरकारले लामो समयसम्म किसानका समस्यालाई बेवास्ता गरिरहेकाले आफूहरू आन्दोलनमा प्रवेश गरेको जानकारी दिनुभयो ।
छ किसान सङ्गठनको आन्दोलनलाई सहयोग गर्न उहाँले आम जननतासित अपिल पनि गर्नुभयो ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटाले राष्ट्रपति, प्रधानमन्त्रीको भान्सामा पाक्ने खाना किसानले उत्पादन गरेको बताउँदै किसानका समस्याप्रति गम्भीर सरकारसित हुन आग्रह गर्नुभयो ।

किसानको आन्दोलन प्रभावकारी रहेको बताउँदै उहाँले आन्दोलनकै कारण मलमा सरकारले दिँदै आएको अनुदान कटौति फिर्ता गर्ने निर्णयबाट पछि हट्न बाध्य भएको बताउनुभयो ।
उहाँले किसान सुतेका बाघ भएको दाबी गर्दै उनीहरूलाई नब्युँझाउन सरकारसित आग्रह गर्नुभयो ।
‘बाघ उठ्यो भने के हुन्छ ? सबैलाई थाह छ नि’ उहाँले भन्नुभयो– ‘किसानका समस्या चाँडै समाधान गरियोस् नत्र हामी आन्दोलनको आँधीबेहरी सृजना गर्ने छौँ ।’
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनबाटै उठेको दाबी गर्नुभयो ।

‘जब किसान आन्दोलन सक्रिय रहन्छ, तब कम्युनिस्ट पार्टी पनि बलियो हुन्छ’ उहाँले भन्नुभयो– ‘यदि किसान आन्दोलन कमजोर भयो भने कम्युनिस्ट पार्टीहरू पनि कमजोर हुन्छन् । त्यसैले किसान आन्दोलनलाई कम्युनिस्ट पार्टीले हल्का रूपमा लिनु हुँदैन ।’
उहाँले नेपाली किसानका उत्पादनलाई बजार उपलब्ध गराउन शासक वर्गसित अनुरोध गर्नुभयो ।
‘भारतबाट आएका कुहिएका माछा हामीले किन्नुपर्ने तर नेपाली किसानले उत्पादन गरेका माछा विक्री नहुने—यस्तो परिपाटी तुरुन्त अन्त हुनुपर्दछ’ उहाँको भनाइ थियो ।
अखिल नेपाल किसान युनियनका लोकनारायण सुवेदीले किसान नेता भीमदत्त पन्तको यो नारा ‘कि जोत हलो, कि छोड थलो’ समातेर किसान आन्दोलन अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले सो अवसरमा किसान आन्दोलनका सम्पूर्ण सहिदलाई स्मरण गर्नुभयो ।
सरकारले अहिलेसम्म लटरपटर काम मात्रै गरेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘किसानका समस्या आधारभूत र राष्ट्रिय चरित्रका छन् । किसानका समस्या समाधान नभइकन समग्र देशको समस्या समाधान हुन्न ।’
उहाँले सरकार र देशका राजनीतिक पार्टीसित किसानका समस्यालाई हल्का रूपमा नलिन चेतावनी पनि दिनुभयो ।
अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीले कृषिप्रधान देशमा किसानमारा नीति अपनाएर देशले कहिल्यै पनि समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

किसानका समस्या समाधान गर्न युवाहरूको विदेश पलायनलाई रोक्नुपर्ने तर्क दिँदै उहाँले सरकारसित देशमै रोजगारी सिर्जना गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
सम्बोधनको क्रममा उहाँले अब किसानले सडकमा तरकारी फालेर विरोध प्रदर्शन गर्ने होइन, सरकार सञ्चालन गर्ने नेताको घर घरमा पुगेर विरोध प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा छ किसान सङ्गठनका ठुलो सङ्ख्यामा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
