काठमाडौं । राष्ट्रिय सभाका सांसद तुलप्रसाद विक (राजेश) ले आफू दलित भएकै कारण काठमाडौंमा डेरा पाउनै मुश्किल भएको बताउनुभएको छ ।
राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद विकले दलितलाई काठमाडौंमा डेराको ठूलो समस्या रहेको अनुभव सुनाउनुभयो ।
उहाँले कोठा दिनुअघि जात सोध्ने र दलित भए कोठा नै नदिने गरेको दुखेसो गर्नुभयो ।
‘कुरा गर्न जाँदा सबै मिल्छ । अन्तिममा हिँड्ने बेलामा हजुर के थरी भन्नुहुन्छ ? म विश्वकर्मा हो भनेपछि श्रीमतीसँग कुरा गरेको छ भने श्रीमान्लाई सोध्नुपर्छ भन्नुहुन्छ । श्रीमान्सँग कुरा गरेको छ भने श्रीमतीसँग सोध्नुपर्छ भन्नुहुन्छ । त्यसरी छ ठाँउमा डेरा रद्द भयो’, सांसद विकले भन्नुभयो, ‘लास्टमा म दलित समुदायकै मानिसको घरमा बसिरहेको छु अहिले । त्यसखालको दुःखद् अवस्था छ अहिले पनि ।’
राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका सांसद विकलाई डेरा खोज्न लामो समय लागेको थियो । धेरै ठाउँमा जातकै आधारमा पाइसकेको डेरा घरभेटीले नदिएपछि उहाँ एकजना दलितकै घरमा कोठा लिएर बस्नुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विभेदविरुद्धको संकल्प प्रस्तावमाथि छलफल भइरकेको छ।
सांसद भुवनबहादुर सुनार प्रश्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सांसद राजेश विकसहित सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर पार्की, राधेश्याम पाशवान, जगप्रसाद शर्मा, जितेन्द्रनारायण देव, प्रमिला कुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, सवमला घिमिरे, मयााप्रसाद शर्मा, गंगाकुमार बेलवासे रहनुभएको छ ।
संकल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ ।संकल्प प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।