विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राख्ने निर्णयले विराटनगर तनावग्रस्त भएको छ । कोशी प्रदेशको विरुद्ध प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाइ फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले रोडशेष चौकको निषेधाज्ञा तोडेपछि प्रहरीले चार राउन्ड हवाइ फायर गरेको हो । त्यसक्रममा चार जना आन्दोलनकारी पक्राउ परेका छन् ।
प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा विभिन्न समूहले प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेपछि पहिचान पक्षधरहरुले लोकतान्त्रिक चौकमा प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वालगायतले नेतृत्व गरेका छन् ।
सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।