बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्च २० देखि २२ (२)२३) सम्म रुसको भ्रमणमा जाने भएका छन् ।
चीनको विदेश मन्त्रालयले मार्च १७ शुक्रबारका दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी मार्च २० देखि रुसको भ्रमण गर्ने घोषणा गरेको हो ।
एक वर्षअघि सुरु भएको रुसयुक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेको हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबिचको ‘रणनीतिक सहयोग’ को विषयमा छलफल गर्ने बताइएको छ ।
मस्कोबाट क्रेमलिन र बेइजिङबाट चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकैसाथ विज्ञप्ति जारी गरेका छन् ।
‘वार्ताको क्रममा रुस र चीनबिचको वृहत् साझेदारी सम्बन्ध र रणनीतिक सहयोगको थप विकास गर्ने विषयमा छलफल हुने छ’ विज्ञप्तिमा भनिएको छ– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा रुसचीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर हुने छ ।’
चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण हुन लागेको हो । मस्कोसँग बेइजिङको बढ्दो हिमचिमलाई लिएर पश्चिमी शक्तिराष्ट्र सशङ्कीत भएका छन् । (एजेन्सी)