काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावस्वरूप देशैभरि वर्षा भइरहेको छ भने आइतवारदेखि मौसम सुधार हुने देखिएको छ ।
हाल देशभर मुख्यत: अर्नव चक्रवातको प्रभाव रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको पनि बताएको हो ।
अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ ।
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशभर बादल लाग्नेछ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमश: कमजोर हुँदै जाने जनाएको छ ।





