बागलुङ बजार । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार तथा आयरल्यान्ड नेपाली एकता समाजका संयोजक अमर छन्त्याल मातृशोकमा पर्नुभएको छ ।
छत्यालकी ८८ वर्षीय आमा जोखीदेवी छन्त्यालको निमोनियाका कारण २०७९ फागुन २६ गते शुक्रबार निधन भएसँगै उहाँ मातृशोकमा पर्नुभएको हो ।
स्मृतिशेष जोखीदेवीको शुक्रबार नै ढोरपाटन नगरपालिका वडा नं. ४ लुकुरवनस्थित घाटमा दाहसंस्कार गरिएको थियो ।
राष्ट्रिय जनमोर्चाका नगर सदस्य तथा वडा नं. ४ का वडाअध्यक्ष खड्ग कुँवरले उहाँको पार्थिव शरीरमा राजमोको झन्डा ओढाउनुभएको थियो । साथै उहाँले शोकमन्तव्य पनि राख्नुभएको थियो ।
दाहसंस्कार स्थलमा रक्तिम सांस्कृतिक अभियानका सचिव तथा बागलुङ जिल्ला अध्यक्ष सहबिन अर्गेजा र रक्तिमकै जिल्ला सचिव कुलबहादुर छन्त्यालले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
अमर छन्त्यालसहित दुई भाइ छोरा र चार बहिनी छोरीकी आमा जोखीदेवीको जन्म १९९१ वैशाख ११ गते भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा श्रद्धाञ्जली
यसैबिच, अन्तर्राष्ट्रिय नेपाली एकता समाजले जोखीदेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकवक्तव्य जारी गरेको छ ।
समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा फागुन २७ गते शुक्रबार जारी शोकवक्तव्य स्मृतिशेष जोखीदेवी पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
शोकवक्तव्यमा शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरिएको उल्लेख छ ।
चैत ८ गते शोकसभा हुँदै
यसैबिच, राष्ट्रिय जनमोर्चा ढोरपाटन–४ वडा समितिले स्मृतिशेष जोखीदेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्न आगामी चैत ८ गते शोकसभाको आयोजना गर्ने भएको छ ।
रक्तिमका जिल्ला सचिव कुलबहादुर छन्त्यालका अनुसार उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका–८ कै धिरीमा आयोजना गरिने भएको छ ।