किभ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्त्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताउनुभयो । प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । आक्रमणबाट भएको क्षति एवम् हताहतीका विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।
खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले ऊर्जा पूर्वाधारमा आक्रमण भएको जनाउँदै त्यसबाट बिद्युत् आपूर्तिमा समस्या भएको बताउनुभएको छ । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्र्नेकोले पनि शत्रुले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताउनुभयो ।
स्थानीय सैन्य प्रशासनका अनुसार किभ क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ । पश्चिमी खेमेलेन्स्किी क्षेत्रका गभर्नर सेइगे गमालीले देशका महत्त्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण जारी रहेको बताउँदै त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
यसैबिच, किभका नगर प्रमुख भिटाली क्लित्सकोले देशका विभिन्न भागमा हवाई आक्रमण भइरहेका बेला राजधानीमा पनि विस्फोट भएको जानकारी दिनुभयो ।
औद्योगिक सहर बाख्मुतलाई क्रमश: आफ्नो नियन्त्रण लिएको बुधबार जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो ।
बाख्मुत दुश्मनको कब्जामा आएमा रुस अझ उत्साहित हुने भन्दै युक्रेनले शत्रुलाई रोक्न हरप्रयास गर्नुपर्नेमा जोड दिएको छ । युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले बाख्मुतमा बुधबार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताउनुभयो । (रासस/एएफपी)