जेनेभा । कङ्गोमा जारी रहेको द्वन्द्वका कारण विस्थापित हुनेको सङ्ख्या बढ्दै गएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिक विस्थापित भएका हुन् ।
संयुक्त राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी एक निकायले दिएको जानकारीअनुसार कङ्गोको पूर्वी क्षेत्रमा केही समययता हिंसा बढेको छ । त्यस हिंसामा परेर यहाँका २० हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
यहाँ पछिल्लो समयमा एम–२३ नामक एक हिंसात्मक समूहले विद्रोह गरिरहेको छ । सो समूहका विद्रोही र यहाँको सरकारी सेनाका बिचमा दिनहुँजसो भिडन्त हुन थालेका छन् ।
यहाँको उत्तरी किभु प्रान्तमा सो विद्रोही समूह र यहाँको सेनाका बिचमा भिडन्त जारी छ । सो भिडन्तमा परेर यहाँका २० हजारभन्दा बढी स्थानीय विस्थापित हुन पुगेको कङ्गोमा रहेको राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । (रासस/सिन्ह्वा)





