काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौडेल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छन्।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको जानकारी गराएको हो । बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन् ।
नेपाल सो परिषदको सदस्य राष्ट्र हो । सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्धिपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताइन् ।
उनले भनिन्, ‘हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ । हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं । हामीले राम्रो तयारी गरेका छौं । विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ । मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देश भित्रै पर्छौै हामी ।
त्यो कामलाई हामीले विश्व सामू चिनाउनुपर्ने हुन्छ । देखाउनु पर्छ । त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरुरी छ । र, हामी त्यहाँ गएर राम्रो अभ्यास पनि दर्शाउँछौं । द्धिपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ ।’
मन्त्री पौडेल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।