काठमाडौँ । नेकपा (मसाल) ले आगामी २०८० वैशाख १० गते घोषित चितवन उपनिर्वाचनको राष्ट्रिय महत्त्व भएको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ फागुन ९ गते मंगलबार जारी प्रेसविज्ञप्तिमार्फत पार्टीले यस्तो अवधारणा व्यक्त गरेको हो ।
पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चामार्फत् उक्त चुनावमा भाग लिने जानकारी गराइएको सो वक्तव्यमा त्यसको महत्त्वबारे भनिएको छ : ‘त्यहाँ भाग लिनुको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवाद र साम्राज्यवादपरस्त राजनीतिक सङ्गठनको राजनीतिक भण्डाफोर गर्नु नै हो ।’
अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो प्रभाव बढाउन योजनाबद्ध प्रकारले अमेरिकाको ‘फ्रिडम पार्टी’ कै तरिकाले कथित राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा चुनावचिह्न पनि घण्टी नै राखेर काम गरेको वक्तव्यमा उल्लेख छ । कथित स्वतन्त्र पार्टीले इसाई धर्मलाई प्रयोग गरेको बताउँदै पार्टीले विश्वास व्यक्त गरेको छ : सम्पूर्ण इसाई धर्मावलम्बीले अमेरिकी साम्राज्यवादलाई साथ दिने छैनन् ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
‘नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आजै बसेको संसदीय बोर्डको बैठकले चितवनको २ नं. क्षेत्रको उपचुनावमा भाग लिने निर्णय गरेको छ ।
त्यहाँ भाग लिनुको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवाद र साम्राज्यवादपरस्त राजनीतिक सङ्गठनको राजनीतिक भण्डाफोर गर्नु नै हो ।
यो आधिकारिक रूपमा नै थाहा भएको कुरा हो कि नेपालमा स्वतन्त्र पार्टीको नामले जुन राजनीतिक शक्तिको निर्माण भएको छ, त्यो अमेरिकाको स्वतन्त्र पार्टीअनुरूप नै गठन भएको छ र त्यसको चुनावचिह्न पनि अमेरिकाको स्वतन्त्र पार्टीको जस्तै घन्टी नै रहेको छ । त्यो अवस्थामा त्यसलाई नेपालको स्वतन्त्र पार्टी नै भन्न मिल्दैन ।
स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले संविधान, कानुन वा राजनीतिक नैतिकताका न्यूनतम शर्त पनि पालना नगरेको आम रूपमा थाह भएको कुरा हो । अमेरिकाको नागरिकता लिइसकेपछि कानुनी दृष्टिकोणले स्वतः खारेज भइसकेको नागरिकतालाई उपयोग गरेर नेपालको पार्टपोर्ट लिनु, त्यही अवैध नागरिकतालाई उपयोग गरेर चुनावमा उम्मेदवार, सांसद, उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनेको कुराबाट त्यो कुरामा कुनै शङ्का रहन्न । उनले अमेरिका र नेपालको पासपोर्ट एकैसाथ प्रयोग गर्नु जस्ता कुराले पनि उनमा इमानदारिता र नैतिकता अत्यन्त कमी भएको कुरालाई बताउँछ ।
यो कुरालाई पनि हाम्रो पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको छ कि त्यस प्रकारको व्यक्तिलाई निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बन्ने अनुमति दियो र उनले सांसद बनेर सफल पनि दिए । यस सन्दर्भमा यो पनि उल्लेखनीय छ कि उनी उम्मेदवार बनिसकेपछि निर्वाचन आयोगमा उनी नेपालको नागरिक नभएकाले उनको उम्मेदवारी खारेज गर्नुपर्ने तथा सर्वोच्च अदालतमा उनी सांसद बन्नका लागि अयोग्य भएका हुनाले उनलाई सांसदको शपथ ग्रहण गर्नुबाट रोक्नुपर्ने उजुरी परेका थिए तर निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत त्यस प्रकारका उजुरीप्रति ध्यान दिएन र त्यसले गर्दा उनलाई निर्वाचनमा उम्मेदवार बन्ने र सांसदको शपथ लिने अवसरसमेत प्राप्त भयो । पछि सर्वोच्चको संवैधानिक इजलासको फैसलाबाट उनका विरुद्ध निर्वाचन आयोग वा सर्वोच्च अदालतमा परेका उजुरी सही थिए र ती उजुरीमा निर्वाचन आयोग वा सर्वोच्च अदालतले न्यायपूर्ण फैसला नदिएको कुरा गलत र गैरजिम्मेवार थिए भन्ने कुरा प्रमाणित भएको छ ।
नेपालको नागरिकसमेत नभएको व्यक्तिलाई अहिलेको सत्ता गठबन्धनले उपप्रधानमन्त्री र गृहमन्त्रीसमेत बनाउने जुन कार्य गर्यो, त्यो कार्य संवैधानिक, कानुनी र राजनीतिक दृष्टिकोणले समेत अत्यन्त गलत कार्य भएको कुरा प्रष्ट छ । इतिहासले उनीहरूसित त्यस प्रकारको कार्यको जवाफ माग्ने छ । यो पनि कम गम्भीर कुरा होइन कि आफ्नै विरुद्ध नागरिकतासम्बन्धी विषयमा छानबिन भइरहेको अवस्थामा रवि लामिछानेले गृहमन्त्री बन्नका लागि पूरै दौडधुप गरे ।
त्यसका पछाडिको उनको उद्देश्य आफ्नो नागरिकतासम्बन्धी मुद्दालाई गलत प्रकारले प्रभावित गर्नु वा त्यसमा बाधा पुर्याउनु थियो भन्ने कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । त्यति मात्र होइन, सर्वोच्चले उनको सांसद पद खारेज गरिसकेपछि पनि उनले आफ्नो दोहोरो नागरिकताको छानबिन वा मुद्दालाई प्रभावित गर्न पुनस् गृहमन्त्री बन्नका लागि पूरा शक्ति लगाएका थिए । उनको त्यस प्रकारको प्रयत्नलाई ओलीले पूरै समर्थन गरेका थिए । ओलीको त्यस प्रकारको गैरजिम्मेवार दृष्टिकोण पनि भत्र्सनायोग्य छ । कमसेकम यसका लागि हामीले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिन चाहन्छौँ कि उनले रवि लामिछानेको गृहमन्त्री बन्ने प्रयत्नलाई सफल हुन दिएनन् ।
नेपालमा राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दु धर्मलाई प्रयोग गर्न प्रयत्न गरे जस्तै रवि लामिछाने वा उनको कथित स्वतन्त्र पार्टीले पनि आफ्ना साम्राज्यवादपरस्त उद्देश्यलाई पूरा गर्नका लागि इसाई धर्मलाई प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् र त्यसका लागि उनलाई अमेरिकी साम्राज्यवादको पूरा साथ प्राप्त भएको छ । राजावादीहरूले हिन्दु धर्मलाई आफ्ना प्रतिगामी उद्देश्य पूरा गर्न प्रयत्न गरे पनि नेपालका बहुसङ्ख्यक हिन्दु धर्मालम्बीले त्यसरी धर्मलाई प्रतिगामी राजनीतिसित जोड्ने कुरामा साथ दिएका छैनन् ।
अझ वास्तविकता यो हो कि नेपालमा प्रतिगमन र राजतन्त्रलाई समाप्त गर्न हिन्दु धर्मावलम्बीको ठुलो योगदान रहेको छ । त्यसैगरी कथित स्वतन्त्र पार्टी वा त्यसको नेताले इसाई धर्मलाई आफ्नो साम्राज्यवादी उद्देश्य पूरा गर्न प्रयत्न गरे पनि नेपालका इसाई धर्मावलम्बीले उनको त्यस प्रकारको साम्राज्यवादपरस्त चरित्रमा साथ दिने छैनन् भन्ने कुराको हामीले आशा गर्दछौँ र गर्नु पनि पर्दछ । वास्तवमा कुनै पनि धर्मसम्बन्धी धर्मावलम्बीको आस्थाको विषय हो र त्यसलाई कुनै प्रकारको प्रतिगामी वा साम्राज्यवादी राजनीतिसित जोड्ने कुराको हामीले कडा शब्दमा विरोध गर्नुपर्दछ ।
नेकपा (मसाल) ले राजावादीहरूको हिन्दु धर्मलाई उपयोग गरेर राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्नको लगातार, दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आएको छ । त्यही प्रकारले साम्राज्यवादको सेवाका लागि इसाई धर्मलाई उपयोग गर्ने जुन प्रयत्न भइरहेको छ, त्यसको पनि हामीले कडा शब्दमा विरोध गर्दछौँ ।
चितवनमा हुन थालिरहेको उपनिर्वाचनको सम्बन्ध कतै स्वतन्त्र पार्टीको नेपालमा साम्राज्यवादी उद्देश्यलाई कार्यान्वयन गर्ने उद्देश्यसित नै सम्बन्धित छ ।
त्यसैले त्यसको व्यापक रूपले भण्डाफोर गर्नुपर्ने तथा जनताको चेतना उठाउनुपर्ने आवश्यकता छ । त्यसरी चितवनमा हुन थालिरहेको उपनिर्वाचन खालि चितवनको उपनिर्वाचन नभएर त्यसले राष्ट्रिय महत्त्व राख्दछ ।
त्यसैले हाम्रो पार्टीले त्यो चुनावलाई उपयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि कस्ता उम्मेदवार बनाउने ? त्यसबारे उम्मेदवारको मनोनयन गर्ने समय आउनुभन्दा पहिले हाम्रो पार्टी वा हाम्रो वैधानिक मोर्चाले निर्णय गर्नेछ ।
जस्तो कि पहिले भनियो, चितवनको उपनिर्वाचन चितवनको मात्र चुनाव नभएर त्यसको राष्ट्रिय महत्त्व नै भएका हुनाले त्यहाँको चुनावमा सहयोग गर्नका लागि हामीले देशभरका जनता र साम्राज्यवाद विरोधी शक्तिसित अपिल गर्दछौँ ।’