काठमाडौं । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले राष्ट्रपतिमा चार जनाको नाम प्रस्ताव गरेका छन् । नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै मुनले गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउन उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन् ।
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आएर राजनीतिक भेटघाटको म्याराथन सकेर फर्केलगत्तै भारतीय पक्षबाट यस्तो प्रस्ताव आएको हो ।
डा. मुनीले राष्ट्रपतिमा देवेन्द्रराज पाण्डे, प्राडा लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सुझाएका छन् ।
प्रमुख दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस आ–आफ्नो पार्टीका व्यक्ति राष्ट्रपति हुनुपर्ने अडान लिइरहेका बेला गैरराजनीतिक व्यक्तिलाई भारतीय बुद्धिजीवीले प्रस्ताव गरेका हुन् ।
मुनले राष्ट्रपति निर्वाचनमा सहमति खोज्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई समर्थन पनि गरेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तित्व खोज्ने बताउँदै आएका छन् भने एमाले र कांग्रेसले भने आ–आफ्नो दलका उम्मेदवार अघि सार्ने तयारी गरेका छन् ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेशसचिव क्वात्राले नेपालका सबैजसो दलका प्रमुख नेताहरुलाई भेटेर फर्किएका छन् । उनले प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सबै मधेशवादी दलका नेताहरु गरी १६ जना बढीसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023