काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभएको छ ।
नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उहाँले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्ने र सामाजिक सञ्जाल पनि आमसञ्चारमाध्यमकै रूपमा स्थापित हुन खोजिरहेको हुँदा एउटा दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस काउन्सिल नेपालले गर्नुपर्ने कामका बारेमा उल्लेख गर्दै उहाँले भन्नुभयो, प्रेस काउन्सिल नेपाललाई एउटा अनुरोध के छ भने अहिले हामीले जुन प्रतिवेदन बनायौँ, प्रतिवेदनमा ९० प्रतिशत कुरा यिनै होलान्, हामीले यस्तो सफ्टवेयर डेभलप गर्नुपर्छ, अनधिकृतरूपमा प्रकाशित, प्रसारित हुने विषय स्वतः आउने व्यवस्था गर्नुपर्छ ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूले पनि निर्वाचनको अनुगमन गर्ने मौका पाएको र काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको अनुगमन गर्दा पहिलाको तुलनामा धेरै शान्तिपूर्वक निर्वाचन हुने गरेको बताउनुभयो ।
पहिला–पहिला निर्वाचनमा धेरै खालको समस्या देखिन्थ्यो, झडप हुने, झमेला हुन्थ्यो, उहाँले भन्नुभयो, अहिले देशभर केही सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भयो, त्यो सकारात्मक विषय हो ।
प्रेस काउन्सिल नेपाललका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनलाई मिथ्या, भ्रामक सूचना नियन्त्रण गर्नका लागि संयन्त्र नै बनाएर काम गरेको र त्यसले सकरात्मक नतिजा दिएको बताउनुभयो ।