काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको जनाइएको छ ।
सिगासका किसान दानसिंह बोहराका अनुुसार गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए ।
यता, कर्णाली प्रदेशका हिमाली जिल्लामा पनि हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा सोमबार रातिदेखि नै हिमपात भएको हो।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।
