काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले पुनः नागरिकता लिनु नपर्ने जिकिर गरेका छन् । नागरिकता विवादमा सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउँदै उनले आफूले अमेरिका जाँदा नेपाली नागरिकता नत्यागेको जिकीर गरेका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनले छुट्टा छुट्टै जवाफ बुझाएका हुन् ।
यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि माघ ११ गतेलाई पेशी तोकेको छ । सर्वोच्चले दिएको समयसीमै लिखित जवाफ बुझाएका रविले आफूले पुनः नागरिकता लिनु नपर्ने जिकिर गरेका हुन् ।
आफूले अमेरिकी नागरिकता त्यागेको जानकारी अध्यागमन विभागलाई पहिल्यै दिइसकेको जिकिर गर्दै रविले आफूले नेपाली नागरिकता नै नत्यागेकाले पुनः प्राप्तिका लागि निवेदन दिनु नपर्ने भनि दोहोरो जवाफ दिएका छन् । यस्तै आफूलाई नेपाल सरकारकै निकायले पहिल्यै नेपाली नागरिक स्वीकार गरिसकेको पनि उनको लिखित जवाफमा जिकिर गरिएको छ । निर्वाचन आयोगमा उजुरी परिसकेपछि आयोगले आफ्नो उम्मेदवारी खारेज नगरी विजयी घोषणा गर्नुले पनि आफू नेपाली नागरिक भएको पुष्टि गर्ने रविको दाबी छ ।
रविले वंशजका आधारमा २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए । तर अमेरिका गएका रविले २०७० फागुन ९ गते अमेरिकी नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकता भने त्याग गरेका थिएनन् । अमेरिकी नागरिकता लिएको ५ वर्षपछि उनले २०७५ जेठ ५ गते नेपालस्थित अमेरिकी दुतावासमा अमेरिकी नागरिकता त्याग्न निवेदन दिएका थिए । त्यसअघिबाटै नेपालमा कार्यरत रवि भिसा लिएर नेपाल आएका थिए । २०७५ असार १४ गते अमेरिकी नागरिकता परित्यागको स्वीकृति पत्र पाएकाले त्यसपछि स्वतः नेपाली नागरिक भएको रविको दाबी छ ।
अमेरिकी नागरिकता त्यागेको जानकारी २०७५ असार ६ गते निवेदन दिइसकेको र गृह मन्त्रालयले त्यही असार ७ गते प्रेस काउन्सिल र सञ्चार मन्त्रालयलाई गराईसकेकाले त्यसपछि नेपालमा बस्न भिसा आवश्यक नभएको बताएका छन् ।
नेपाल सरकारले समेत आफ्नो पुरानो नागरिकताकै आधारमा सेवा सुविधा दिइरहेको उदाहरण उनले जवाफमा पेश गरेका छन् ।