काठमाडौं । केन्द्रमा गठबन्धन भत्किएर नेकपा (एमाले) सहितको सत्ता गठबन्धन बनेसँगै कर्णाली प्रदेशमा पनि एमाले वा माओवादीमध्ये कसले मुख्यमन्त्री पाउने भन्ने बहस सुरु भएको छ । कर्णालीमा एमालेका यामलाल कँडेल र माओवादीका राजकुमार शर्मा मुख्यमन्त्रीको दौडमा छन् ।
एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए।
अघिल्लो पटक कर्णाली प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न रणनीति खेलेपनि मुख्यमन्त्री हुन असफल भएका थिए। पुनः मुख्यमन्त्रीका लागि यसपटक कँडेल प्रदेश सभामा दोहोरिएका हुन्।
केन्द्रमा अचानक भएको राजनीतिक समीकरणले कर्णालीमा तेस्रो दलका रुपमा रहेको एमालेलाई सरकारमा जाने मौका मिलेको छ।
यता, माओवादीले पनि रुकुमपश्चिमका राजकुमार शर्मालाई मंगलबार र बुधबार बसेको बैठकले दलको नेतामा सर्वसम्मत चयन गरेको।
शर्मा रुकुमपश्चिम प्रदेश सभा (२)बाट निर्वाचित संसद हुन्। उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुन्।
अब केन्द्रमा जस्तै कर्णालीमा एमाले/माओवादीबीच पहिला कसले सरकारको नेतृतव गर्ने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ।