काठमाडौं । १९ वर्षदेखि जेलमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज (शुक्रबार) रिहा हुँदैछन् । सर्वोच्च अदालतले कैदमुक्त हुने आदेश दिएका उनलाई केही प्रक्रिया पुर्याएर आज जेलबाट छोडिँदैछ ।
बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
कारागार व्यवस्था विभागका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन (डिपोर्ट गर्न) आदेश दिएकोमा बिहीबार केही प्रक्रिया पूरा गर्न नसकिएकाले शुक्रबार मात्र रिहा गरी अध्यागमन विभागलाई बुझाइने भएको हो।
सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौँको मनहरामा हत्या गरेका उनले त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेका थिए ।
हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौँ आएका बेला पक्राउ परेका थिए । काठमाडौँ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरक–रफरक समयमा जन्मकैदको फैसला भएको थियो।
दुई विदेशी नागरिकको हत्यामा दोषी ठहर भएका शोभराजमाथि जाली राहदानी प्रयोग गरेको आरोप लागेको थियो। अध्यागमन विभागले शोभराजले नेपाल आउँदा प्रयोग गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पुर्याएर फिर्ता गर्ने तयारी गरेको जनाएको छ।
सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।