तमघास । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको तमघास माध्यमिक विद्यालयमा बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराइन्छ । यहाँ जिल्लाको मालिकाबाहेक अन्य ११ पालिकाका ३० विद्यार्थी छन् ।
विसं २०५९ देखि आवाससहित अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन सुरु गरिए पनि हालसम्म आधुनिक प्रविधिको व्यवस्था नहुँदा विद्यार्थी पुरानै शैलीमा पढ्न र सिक्न बाध्य छन् । यहाँ २० बहिरा अपाङ्गता र १० बौद्धिक अपाङ्गता भएका विद्यार्थी छन् । उहाँहरूलाई पूर्णरूपमा नि:शुल्क आवासीय सुविधासहित विद्यालयले अध्यापन गराउँदै आएको छ ।
भर्ना भएपछि प्रतिविद्यार्थी विद्यालयले सरकारबाट रु चार हजार पाउँछन् । चरण चरणमा विभिन्न तालिम लिएका शिक्षकले साङ्केतिक भाषाबाट विद्यार्थीलाई पढाउनुहुन्छ । जिल्लामा दुवै प्रकारका क्षमता भएका विद्यार्थीलाई पढाउने एक मात्र विद्यालय उपल्लो तमघास हो ।
हालसम्म एक सयभन्दा बढी विद्यार्थी उपल्लो तम्घासमा कक्षा ५ सम्म पढेर बागलुङ, पोखरा, भैरहवा र काठमाडौँ जाने गरेका छन् । यही विद्यालयले उत्पादन गरेका चार विद्यार्थी हाल कोरिया रहेको पूर्वस्रोत शिक्षक राममणि पन्थीले बताउनुभयो । थुप्रै विद्यार्थीले नेपालमै सीपमूलक व्यवसाय पनि गरिरहेका छन् ।
उपल्लो तमघास माध्यमिक विद्यालयले कम्तीमा छ वर्ष पुगेको र १६ वर्ष ननाघेका विद्यार्थीलाई समावेश गरेर पढाइरहेको छ । बढीमा ५० यस्ता फरक क्षमता भएका विद्यार्थी यस विद्यालयले अध्यापन गराउन सक्छ । यस विद्यालयको यस्तो सुविधाका कारण अपाङ्ता भएका बालबालिकाका अभिभावक निराश हुनुपरेको छैन् ।
बालबालिकाको स्याहारसुसार गरिरहनुभएकी रेसुङ्गा नगरपालिका–७ की सीता घर्तीले सुरुमा बालबालिकाले खान र बोल्न नजान्ने हुँदा केही समस्या भए पनि सिकेपछि सहज भइरहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकालाई स्याहारसुसार गर्न पाउँदा खुसी लागेको भन्दै धर्म गर्न योबाहेकको अरु कर्म गर्न नपर्ने उहाँ बताउनुहुन्छ । उहाँसहित तीन जनाले बालबालिकाको हेरचाह गर्दै आउनुभएको छ ।
घरमा आफ्नै भाषा सिकाउने कारण विद्यालयमा आउँदा साङ्केतिक भाषा नजान्दासम्म विद्यार्थीलाई सिकाउन गार्हो हुने स्रोत शिक्षक ज्ञानेन्द्र राज मरासिनीले बताउनुभयो ।
सिकाउँदै गएपछि सहज हुने शिक्षक मरासिनीको भनाइ छ । अन्य बोलेर पढाउने विद्यार्थीभन्दा साङ्केतिक रूपमा पढाउने विद्यार्थी सिकाइमा बढी सक्रिय हुने गरेको उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पिङ्की घिमिरे भुसालले अपाङ्गता भएका विद्यार्थीलाई लामो समयदेखि अध्यापन गराउँदै आएपनि आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । आफूहरूको इच्छा भएर पनि त्यस्तो बाताबरण बन्न नसकेको उहाँको भनाइ छ ।
जिल्लाभर भएका अपाङ्गता विद्यार्थीलाई लेखाजोखा समिति गुल्मीले हेर्दै आएको छ । समितिका संयोजक राममणी पन्थीले सङ्घीयता कार्यान्वयनसँगै बनेका गाउँ गाउँका सरकार अपाङ्गताप्रति उदासीन बनेको बताउनुभयो ।
गाउँ गाउँमा भएका बहिरा अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिका खोजेर उपल्लो तमघास माध्यमिक विद्यालयमा नि:शुल्क पढाउने र विद्यार्थीका लागि पनि आधुनिक प्रविधिको व्यवस्थामा पहल गर्ने उहाँको भनाइ छ । (रासस)