काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।
चौधरी टिकापुर काण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भइ हाल हाल डिल्लीबजार जेलमा छन् । रेशमसहित फौजदारी मुद्दामा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टी, सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
बैठकले तीनै दलसँग यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्ने निर्णय लिएको ती मन्त्रीले बताए।
देवानी फौजदारी संहिता कार्यविधिमा केही गम्भीर अपराधमा संलग्नलाई कुनै पनि कानुनले माफी दिन नमिल्ने व्यवस्था छ। सरकारले अध्यादेशमार्फत कुनै घटनामा संलग्न राजनीतिक व्यक्तिहरुलाई माफी दिने व्यवस्था गर्न लागेको हो।
यो व्यवस्था भविष्यमा कायम (नजिर) नहुने गरी अहिले जेलमा रहेका राजनीति दलसम्वद्ध कैदीबन्दीहरुका लागि मात्र ल्याइएको हो।
गठबन्धन दलका नेताहरुले नयाँ सरकार गठनका लागि सिके राउत र रेशम चौधरीको सहयोग चाहेका छन् । त्यसका लागि उनीहरुको सर्त मान्न सरकार तयार भएको हो ।
हालै सम्पन्न चुनावबाट नागरिक उन्मुक्ति पार्टीले पाँच सिट जितेको छ भने सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा १ र समानुपातिकतर्फ ५ गरी ६ जना सांसद जितेको छ ।