काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा “महिला अधिकार : मानव अधिकार” उद्घोषसहित विशेष अभियान सुरु गरिएको छ ।
समाजले चहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १६ जिल्लामा प्रदर्शनसहितका कार्यक्रम गर्दै अभियानको थालनी गरेको हो ।
महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर्न एवम् महिला सशक्तीकरणमा केन्द्रित रहेको भनिएको यो अभियान निरन्तर चल्ने आयोजकले जनाइएको छ ।
अभियानअन्तर्गत शान्ति समाजका जिल्ला शाखाले गत मङ्सिर २४ गते शनिबार रुपन्देहीको बुटवल, चितवनको भरतपुर, पाल्पाको तानसेन, सल्यानको खलङ्गा, कैलालीको टीकापुर, मोरङको विराटनगर, अछामको मङ्गलसेन, सङ्खुवासभाको खाँदबारी, बागलुङको सदरमुकाम बागलुङ बजार, नुवाकोटको बट्टार, महोत्तरीको जलेश्वर, बाँकेको नेपालगञ्ज, अर्घाखाँचीको सन्धिखर्क र झापाको धुलावारी गरी १४ स्थानमा प्रदर्शन गरेका थिए ।
शान्ति समाज काठमाडौँ र दाङ शाखाले अन्तक्र्रिया कार्यक्रम आयोजना गरेका थिए ।
“महिला अधिकार : मानव अधिकार, व्यवहारमा चरितार्थ गरौँ” लेखिएका प्लेकार्ड प्रदर्शन गरेको महासचिव रामकृष्ण बरालले जानकारी दिनुभयो ।
त्यसैगरी, चहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजका सुर्खेत, गोरखा शाखाले पनि अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।