काठमाडौं । बागमती नदी किनारका सुकुम्वासीहरुले आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै विरोध प्रदर्शन जारी राखेका छन् ।
सोमवार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरुले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म शान्तिपूर्ण -यालीसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाए ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्वासीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनीसमेत दिए ।
-यालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनी दिए । उनले वैकल्पिक बसोवास बिनाको उठिवास नागरिक अधिकारमाथिको हनन भएको बताए ।
सुकुम्वासीहरुले -यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर्, वार्ता र संवादको ढोका खुला गर्, भूमी अभियन्तामाथिको जाहेरी फिर्ता गर्, उठिवासको त्रास बन्द गर्, नागरिकको अधिकार सुनिश्चित गर् लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।
गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरुको आरोप छ ।