अल्जियर्स । अल्जेरियाको एक अदालले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भिडले चित्रकारको हत्या गरेको थियो ।
अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रुरतापूर्वक हत्या गरेका थिए । एक जना पुरुष र तीन जना महिलाले उनको शवलाई काटेर टुक्रा टुक्रा पारी डढाएका थिए । ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।
चित्रकार जामेलको हत्यामा एक सय जनाभन्दा बढी संलग्न रहेका थिए तर मुद्दा दर्ताका बखत सबैलाई विपक्षी बनाइएको थिएन । मृत्युदण्डको सजाय सुनाइएकालाई आजीवन काराबासको दण्ड हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
अल्जेरियाले मृत्युदण्डमा रोक लगाएकाले त्यो काराबासको सजायमा रुपान्तरण हुन सक्ने छ । केहीलाई केही वर्षको सजाय सुनाइएको छ भने ३८ जनालाई दुईदेखि १२ वर्षसम्मको जेल सजाय तोकिएको छ । (रासस/एपी)