काठमाडौं । काठमाडौंमा मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । मतदान सकिएसँगै १० वटै निर्वाचन क्षेत्रमा आजैदेखि मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
मतपत्रका बाकसहरु आइसकेपछि सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना सुरू हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार १० वटै क्षेत्रको मतगणना अलग–अलग ठाउँमा हुनेछ ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं–१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ।
यस्तै, काठमाडौं–५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, ७ को बालाजुस्थित जुडो हलमा ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, ९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना तयारी गरिएको छ ।