ब्याङ्कक । युक्रेन युद्ध अन्त्यको आह्वान गर्दै एसिया प्रसान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलन सम्पन्न भएको छ ।
थाइल्यान्डको राजधानी ब्याङ्ककमा नोभेम्बर २० (२०२२) आइतबार सो शिखर समापन भएको हो ।
एपेकका प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा सम्मेलन आयोजक देश थाइल्यान्डले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेको थियो । २१ सदस्यीय एपेकका सदस्य चीन र रुस पनि हुन् । यद्यपि चीनले रुसी आक्रमणको आलोचना गरेको छैन ।
शिखर सम्मेलन समाप्तिपछि जारी घोषणापत्रमा युद्धका बारेमा एपेक नेतृत्वको मत बाझिएको छ । एपेकले आर्थिक सम्बन्ध विस्तार र व्यापार प्रवद्र्धनलाई नै जोड दिएको तथा एपेक द्वन्द्व समाधानको मञ्च नभएको दाबी गरिएको छ । मञ्चले युद्ध र द्वन्द्वबाट आर्थिक विकासका मार्गमा अकल्पनीय परिणाम ल्याउन सक्नेतर्फ सचेत गराएको छ ।
एपेकका अधिकांश सदस्यले युक्रेनमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए । युक्रेन युद्धले ठुलो मानवीय पीडा निम्त्याएको, विश्व बजारमा महङ्गी बढेको, आपूर्ति शृङ्खलामा समस्या उत्पन्न भएको, खाद्य असुरक्षा र वित्तीय जोखिम निम्त्याएकोमा गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
सम्मेलन समापनका क्रममा दक्षिणपूर्वी एसियाली देशमा भएका घटनाको समीक्षा पनि भएको थियो । कोभिड–१९ को महामारीका कारण दुई वर्षसम्म आमनेसामने वार्ताको अवसर नपाएका नेताले साइड लाइन वार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।
शिखर सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले खुला व्यापार र लगानीका निम्ति आह्वान गर्नुभएको थियो । उहाँले बहुपक्षीयतालाई वास्तविक रूपमा कायम राख्नुपर्ने, बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने, विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृङ्खलालाई सुरक्षित एवम् स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा विशेष जोड दिनुभएको थियो । (रासस/एपी)





