गाजा । उत्तरी गाजापट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
यस घटनामा परी अन्य ३० भन्दा बढी घाइते भएका सुरक्षा र चिकित्सा स्रोतले बताएका छन् । जबलिया शरणार्थी शिविरको तालजातर क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको इन्डोनेसियाली अस्पतालका निर्देशक सलाह अबुलैलाले जानकारी दिनुभएको छ ।
प्यालेस्टिनी सिभिल डिफेन्सले एक विज्ञप्तिमा उद्धार टोली र धेरै सुरक्षाकर्मी घटनास्थलमा पठाएको घोषणा गरेको छ । प्यालेस्टिनी प्रत्यक्षदर्शीले आगो नियन्त्रण गर्न एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीले घण्टौँसम्म काम गरिसकेको बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले भवनभित्र ठुलो मात्रामा भण्डारण गरिएको इन्धनका कारण आगलागी भएको हुन सक्ने सङ्केत गरेको गाजाको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । (रासस/सिन्ह्वा)





