अर्घाखाँची । भूमि जोखिममा परेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ७ भुजुङ्गेका बासिन्दालाई स्थानीय तहले टेन्टमा बसालेपछि उनीहरु आक्रोशित भएका छन् ।
स्थायी बसोबासको माग गरिरहेका भुजुङ्गेबासीलाई स्थानीय सरकारले टेन्ट उपलब्ध गराएको हो ।
स्थानीय जनप्रतिनिधिले भूमी जोखिममा परेका उनीहरुलाई जोखिम भएकै ठाउँमा टेन्ट लगाएर बसालेपछि पीडितहरु आक्रोशित बनेका छन् ।
केही वर्ष यता वर्षायाममा बस्ती रहेको ठाउँ भासिँदै जान थालेपछि हरेक वर्ष त्यहाँका बासिन्दा नजिकैको विद्यालयमा आश्रय लिएर बस्ने गरेका छन् । गएको वर्षामा पनि स्थानीयले विद्यालयमै आश्रय लिएका थिए । उनीहरुलाई स्थानीय सरकार र विपद व्यवस्थापन समितिको सहयोगमा खाद्यान्न उपलब्ध गराइएको थियो ।
वर्षा रोकिएसँगै आफ्नो घरमा फर्किएका उनीहरुलाई संघ र प्रदेशको निर्वाचन आएसँगै जनप्रतिनिधिहरुले टेन्ट दिएर राखेका हुन् ।
भोटका लागि आँखामा छारो हाल्न आफूहरुलाई टेन्ट दिइएको उनीहरुले गुनासो गरे । पीडित बासिन्दा टेन्टमा बसेका भने छैनन् ।
विज्ञहरुले नै जोखिमयुक्त भनि बस्न उपयुक्त नहुने सुझाव दिएको सो स्थानबाट आफूहरुलाई अन्यत्र सारिदिन उनीहरुले माग गरेका छन् ।