बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आगामी मङ्सिर ४ गतेको चुनावको मुख्य उदेश्य भनेको प्रतिगामी शक्तिको पराजय रहेको बताउनुभएको छ ।
राजमो केन्द्रीय समितिले समानुपातिक उम्मेदवारको पक्षमा सञ्चालन गरेको प्रचार प्रसार अभियानअन्तर्गत रुपन्देहीको बुटवलमा २०७९ कात्तिक २८ गते आयोजित समापन कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
सम्बोधनको क्रममा उहाँले प्रत्येक पाँच वर्ष हुने आवधिक चुनावभन्दा मङ्सिर ४ गतेको चुनाव केही भिन्न भएको बताउनुभयो ।
‘प्रत्येक पाँच वर्षमा आवधिक रूपमा चुनाव हुन्छ तर यो चुनाव त्योभन्दा भिन्न छ’ उहाँले अगाडि भन्नुभयो– ‘यो चुनावमा प्रतिगामी भूमिकामा रहेका शक्तिहरूले दुईतिहाइ मागिरहेका छन् । उनीहरूलाई दुईतिहाइ दिने हो भने लोकतन्त्र र धर्म निरपेक्षता समाप्त हुन्छ ।’
अध्यक्ष नेपालीले देशमा सामु २०६२–६३ सालको उपलब्धि वा संविधान जोगाउने वा पुनः प्रतिगमनमा जानका लागि तयारी हुने गम्भीर विकल्प नेपाली जनतासामु आइपरेको बताउनुभयो ।
‘यो चुनावमा जनआन्दोलनका उपलब्धि र संविधान जोगाउने वा पुनः देशलाई प्रतिगमनतर्फ जान दिने ? त्यसबारे फैसला हुने छ’ उहाँको भनाइ थियो ।
नेपाली जनता सधैँ अग्रगमनको पक्षमा रहेको बताउँदै नेता नेपालीले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनताले देशलाई पुनः निरङ्कुशता र एकल धार्मिक राष्ट्रवादतर्फ जान दिने छैनन् ।’
सम्बोधनको क्रममा अध्यक्ष नेपालीले रुपन्देहीको २ नं. प्रतिनिधि सभा क्षेत्रमा राजमोको समर्थन नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई रहेको जानकारी पनि दिनुभयो ।
सभामा सम्बोधन गर्दै अर्का वक्ता राजमो उपाध्यक्ष जनकराज शर्माले राजमोको स्वच्छ छवि तथा लोकतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताप्रतिको सम्झौताहीन भूमिकालाई ध्यानमा राख्न आम जनतासित अपिल गर्नुभयो ।

‘तपाईंहरूलाई थाहै छ, राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरू निष्कलङ्क छविसहितका छन्’ उहाँले भन्नुभयो– ‘त्यति मात्रै होइन, राजमो प्रतिनिधिले संसद्मा रहेर लोकतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको सवालमा सम्झौताहीन सङ्घर्ष गरेका छन् ।’
उहाँले यस आधारमा नेपाली जनतासित राजमोलाई सघाउन आग्रह गर्नुभयो ।
उपाध्यक्ष शर्माले राजनीतिक दलमध्येको उत्कृष्ट भूमिकाबापत आम जनताले राजमोलाई भोट हाल्नु नै भोटको सही सदुपयोग हुने दाबी पनि गर्नुभयो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य र प्रतिनिधि सभामा राजमोका समानुपातिक उम्मेदवार इन्दिरा ज्ञवालीले पनि मन्तव्य राख्नुभएको थियो ।

राजमो केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमको अध्यक्षता तथा राजमो रुपन्देहीकी लक्ष्मी कुँवरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई राजमो लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गौतमले स्वागत गर्नुभएको थियो ।
