काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशब्यापीरुपमा सञ्चालन गरिरहेको समानुपातिक अभियान काठमाडौंमा पनि उत्साहका साथ सञ्चालन भइरहेको छ । उपत्यकाका विभिन्न स्थानमा राजमो नेता कार्यकर्ताहरु घरदैलोमा व्यस्त छन् ।
काठमाडौंमा प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिक उम्मेदवारहरुलाई भोट माग्न जनताको बिचमा पुगेका नेता कार्यकर्ता प्रचार उत्साहजनक रहेका बताउँछन् ।
राजमोले काठमाडौंका तारकेश्वर, टोखा, बूढानीलकण्ठ, चन्द्रागिरी लगायतका स्थानमा प्रचार अभियान जारी राखेको छ ।
प्रचारका क्रममा मतदाताबाट राम्रो प्रतिक्रिया पाएको अखिल नेपाल महिला संघका कोषाध्यक्ष एवम् राजमो प्रतिनिधि सभा समानुपातिक उम्मेदवार रितु केसीले बताउनुभयो ।
उहाँले आफूहरु संघीयता खारेजीको एजेण्डासहित जनताको बिचमा गएको उहाँले जानकारी दिनुभयो । संघीयता एजेण्डामा ब्यापक जनसमर्थन रहेको बरु आफूहरु नै जनताले चाहेअनुसार पुग्न नसकेको उहाँले बताउनुभयो ।

‘संघीयता खारेजीको मुद्दामा आम सहमति जस्तै छ । हामी जहाँ जहाँ पुगेको छौँ, हरेक ठाउँबाट यो विषयमा जनसमर्थन पाएका छौँ’ केसीले भन्नुभयो, ‘बरु जनताले चाहेअनुसार नै हामी पुग्न सकेका छौँनौँ ।’
राजमोले संघीयता खारेजीसहित राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता विषयलाई पनि प्राथमिकता दिएको छ । यस्तै, संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धन गर्नुपरेको पनि जनताका बिचमा स्पष्ट पार्दै आइरहेको छ ।

गत स्थानीय निर्वाचनमा काठमाडौंमा राजमोले अन्य सबै स्थानीय तहमा गठबन्धनका उम्मेदवारलाई समर्थन गरेर चन्द्रागिरी नगरपालिकाको उपमेयरमा चुनाव लडेको थियो । त्यतिबेला उपमेयरका उम्मेदवार रोसन दानीले ४ हजार ४५९ मत ल्याउनुभएको थियो भने उपप्रमुखमा १० हजार ४२ मत बदर भएको थियो ।
स्थानीय तहमा आएको मतसहित बदर मतलाई सदर गर्ने र थप मत तान्ने रणनीतिमा राजमो देखिन्छ ।
