वासिङटन । भारतको पश्चिमी राज्य गुजरातको मोर्बीमा झोलुङ्गेपुल भत्किँदा भएको अकल्पनीय मानवीय क्षतिप्रति विश्वभरिबाट दुःख व्यक्त गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, जापानका प्रधानमन्त्री फुमियो किसिदा, पोल्या्रन्डका प्रधानमन्त्री मेटुझ मोरावियेकी, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनर अस्ट्रेलियाका विदेशमन्त्री पेनी ओङले भारत सरकार, त्यहाँका जनताप्रति समवेदना व्यक्त गर्नुभएको हो ।
उक्त घटनाबाट आफूहरू स्तब्ध भएको बताउँदै उहाँहरूले दुर्घटनामा ज्यान गुमाएकाका परिवार जनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँहरू घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
अक्टोबर ३०, २०२२ आइतबार राति मच्छुनदीको झोलुङ्गेपुल भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी हराइरहेका छन् ।
छठपर्व मनाउने क्रममा भिडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । बेलायत शासनकालमा उन्निसौँ शताब्दीमा बनेको उक्त पुल मर्मत सम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो ।
यसैबीच, पुल मर्मतको ठेक्का पाएको ओरेभा गु्रप अजन्ता म्यानुफ्याक्छचरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्यज्यान अभियोगमा पक्राउ परेका छन् ।
राष्ट्र सङ्घका महासचिव स्तब्ध
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि झोलुङ्गेपुल घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार उहाँका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराउनुभएको हो ।
सो दुर्घटनाबाट महासचवि गुटरेस निकै स्तब्ध भएको बताउनुभएको सो विज्ञप्तिमा जनाइएको छ । महासचिव गुटरेसले सो दुर्घटनाबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवार जनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै महासचिव गुटरेसले यस दुर्घटनामा परी घाइते भएकालाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । (एजेन्सी)