फाइल फोटो
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सोमबार सरकारी वकिल कार्यालय काठमाडौंले उनलाई १० देखि १२ वर्षसम्म कैद गर्न माग गर्दै अभियोजन पत्र दायर गरेको हो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा वकिल कार्यालयले मुद्दा दायर गरेको हो । आफूमाथि लागेको आरोपको सन्दीपले भने अस्वीकार गरेका छन् ।
यसअघि सरकारी वकिल कार्यालयले गराएको बयानमा उनले आरोपको खण्डन गरेका हुन्। अब मंगलबारदेखि जिल्ला अदालत काठमाडौं सन्दीपको बयान गराउने र थुनछेक बहस सुरु हुनेछ ।
सन्दीप विगत ७ वर्षदेखि व्यवसायिक रुपमा क्रिकेट खेल्दै आएका छन्। सन् २०१६ देखि उनी राष्ट्रिय टोलिबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । सन् २०२१ डिसेम्बरमा उनी राष्ट्रिय टोलीको कप्तान भएका थिए। उनीमाथि एक १७ वर्षीया किशोरीले जबर्जस्ती करणीको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए ।