पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवम् मनाङ ख का प्रदेशसभा सदस्य उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नुहुँदैन भनेको छ‘ ३० लाखमा नेपालमा चुनाव जित्छ यार.. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरणमा भनिएको छ– “तपाईंले दिएको अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा समेत प्रश्न उठाउनुका साथै तपाईंले मनोनयन गर्दाको एक दिन मात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भनी स्वीकार गरेबाट निर्वाचन आचार संहिता विपरीतका क्रियाकलापलाई इङ्गित गरेको देखिन्छ ।”
तपाईंले दिएको अभिव्यक्ति प्रचलित निर्वाचनसम्बन्धी कानुन र निर्वाचन आचार संहिताको प्रतिकूल हुने देखिएकाले पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।
सो अभिव्यक्ति तपाईंले दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ? तपाईंले निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका–२०७९ को अनुसूची–५ को मनोनित गर्ने उम्मेदवारले भर्ने ब्यहोराको खण्ड (ख) बमोजिमको ‘निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्ने छु’ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको तथा सोही निर्देशिकाको अनुसूची–६ बमोजिमको स्वघोषणा समेत गर्नुभएको छ ।
तपाईंले सोही निर्देशिकाको अनुसूची–६ को खण्ड (त) बमोजिमको निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्ने तथा खण्ड (थ) बमोजिमको नेपालको संविधान, कानुन र निर्वाचन ऐननियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा तपाईंको अभिव्यक्ति निर्वाचन आचार संहिता एवम् प्रचलित निर्वाचन सम्बन्धी ऐन तथा कानुनको प्रतिकूल हुन्छ, हुँदैन ? स्पष्टीकरणमा सोधिएको छ ।
साथै आयोगले तोकेको खर्च सीमाभन्दा बढी निर्वाचन खर्च हुने भनी दिएको अभिव्यक्ति प्रचलित निर्वाचन कानुन, निर्वाचन आचारसंहिता र आयोगको निर्देशन समेतको विरुद्ध भएको देखिएकाले तपाईंलाई निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम तपाईंलाई कारबाही किन हुनुनपर्ने हो ?
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग–आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्था रहेको साथै निर्वाचन आयोगले निर्वाचन आयोग ऐन–२०७३ को दफा २२ बमोजिमको निर्वाचन आचार संहिताको बारेमा सम्पूर्ण जानकारी हुँदाहुँदै पनि प्रदेश सरकारको बहालवाला मन्त्रीसमेत रहेको तपाईंबाट निर्वाचन खर्चका सम्बन्धमा आयोगका पदाधिकारीसमेतलाई जोडी दिइएको अभिव्यक्ति सार्वजनिक रूपमा दिन सुहाउने हो, होइन ? स्पष्टीकरणमा सोधिएको छ ।
तपाईंले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेशसभा ख को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाखभित्र हुनुपर्छ, पर्दैन ? यदि तपाईंको अभिव्यक्ति सत्य हो भने तपाईंले मनोनयन पत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैङ्क तथा खाता नं. र उक्त रकम प्राप्तिको स्रोतसमेत खुलाई जवाफ पेस गर्न भनिएको छ ।
निर्वाचन आयोगले तोकेको खर्च सीमा रकम साँच्चै त्यस क्षेत्रका लागि अपुग हो भने कुन कुन शीर्षकमा तपाईंले रु २३ लाख रकम खर्च गर्नुभयो ? फेहरिस्त पेस गर्नुहोला । तपाईंको निर्वाचन क्षेत्रको लागि कुन कुन शीर्षकमा खर्चसीमा बढाउनु पर्ने तथा कुन कुन नयाँ शीर्षक थप गर्न आवश्यक हो ? थप गर्नुपर्ने शीर्षकसहित वस्तुगत आधार कारणसमेत जवाफमा पेस गर्न भनिएको छ ।