काठमाडौं । महाकाली पारी भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोट गराउँदा नेपाली बालक मारिएको घटनामा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावासलाई परराष्ट्र मन्त्रालयले ‘कूटनीतिक नोट’ पठाएको हो ।
महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।
कुटनीतिक नोटमा भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, त्यस्ता कार्य गर्दा बिशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिन आग्रह गरिएको छ ।
गृह मन्त्रालयले पठाएको स्थलगत प्रतिवेदन आज प्राप्त भएको र आजै भारतलाई कूटनीतिक नोट पठाइएको परराष्ट्र स्रोतले जनाएको छ ।
स्रोतका अनुसार घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ । भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ ।