मोगादिसु । दक्षिणी सोमालियाको एक होटलमा आत्मघाती बम हमला भएको छ ।
हमलामा भएको क्षतिको विवरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेको बताइएको छ ।
दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् ।
उनले भनेका छन्– यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरूले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको सो आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ ।
रातिको समयमा आएका आत्मघाती बम हमलाकारीले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए । सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो ।
आत्मघातीहरूले बम विस्फोट गराएपछि प्रहरी र उनीहरूका बिचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । यहाँ सो आक्रमणबाट केकति हताहत भएका छन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ । (रासस/सिन्ह्वा)