रोम । इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गर्नुभएको छ ।
देशमा राजनीतिकलगायतका विभिन्न समस्या उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गर्नुभएको हो ।
उहाँले शनिबार इटालीको प्रधानमन्त्रीका रूपमा सपथ लिनुभएको थियो । उहाँलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहमाझ पद हस्तान्तरण गर्नुभएको थियो ।
उहाँ हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरू राजनीतिक दललाई पनि सरकारमा समावेश हुन आग्रह गर्नुभएको छ । उहाँले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरू रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ त्यसअघि गभर्नर हुनुहुन्थ्यो । उहाँ केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रूपमा रहनुभएको थियो ।
मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशत मात्र मत प्राप्त गरेको थियो तर पनि उहाँलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री द्रागीले आग्रह गर्नुभएको हो । (रासस/सिन्ह्वा)