काठमाडौं । निर्वाचन आयोगले सरकारले विभिन्न कामको अनुमतिका लागि मागेको अनुमति रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलेसरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढि निवेदन रोकिदिएको बताउनुभयो ।
सरकारले निर्वाचन आचारसंहिता विपरित हुने खालका काममा अनुमति पाउँ भनि दिएको निवेदनहरु रोकिदिएको उहाँले स्पष्ट पार्नुभयो ।
कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ती, नयाँ भवन शिलान्याश, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरित भएकाले त्यस्ता खालको काममा अनुमती नदिइएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘आचार संहिताले कर्मचारी सरुवा, बढुवा, नयाँ कार्यक्रम छन भने उद्घाटन, शिलान्याश, अनावरणलगायतका विषयबस्तुहरु जुन कार्य गर्दाखेरी निर्वाचनलाई प्रतिकूल असर पर्छ । अर्थात् निर्वाचन प्रभावित हुन्छ भने ती काम गर्न पाईदैन भनेर हामीले रोक्यौं ।’
तर आयोगले अत्यावश्यक सेवाका लागि परेको करिव १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाईलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्विकृत गर्दै अघि बढाउन अनुमति दिइएको बताउनु भयो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा असर पर्ने कुनै पनि कामलाई अघि बढाउन अनुमति दिन नसकिनेतर्फ सरकारलाई सचेत गराउँदै आएको छ ।