बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिगामी पक्षधर विजयी भए भने जनआन्दोलनका उपलब्धिहरु गुम्ने बताउनुभएको छ ।
बिहीबार पाँचदलीय गठबन्धनद्वारा बागलुङ नगरपालिका–१३ पैयुँपाटामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा बागलुङ क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका केसीले सो कुरा बताउनुभएको हो ।
केसीले चुनावको मुख्य उद्देश्य नेपाली जनताको लामो संघर्ष गरेर प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षतासमेतको रक्षाको लागि आफूहरु चुनावमा भगा लिनुपरेको बताउनु भयो । उहाँले प्रतिगमनका कारणले देशमा गम्भीर खतरा उत्पन्न भएको पनि बताउनु भयो ।
‘आगामी चुनावमा प्रतिगमनको विजय भयो भने नेपाली जनताले आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू समाप्त हुनेछ’ नेता केसीले भन्नुभयो, ‘त्यसकार प्रतिगमनलाई पराजित गर्न अहिलेको राष्ट्रिय आवश्यकता हो ।’

उहाँले आगामी चुनावमा गठबन्धन पक्षधर उम्मेदवारलाई भारी मत दिएर विजय बनाउन तथा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नको लागि आव्ुहान गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसमा केन्द्रीय सदस्य चम्पा खड्का, कांग्रेस महाधिवेशन प्रतिनीधि जगढीश चन्द्र उपाध्यय, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कृष्ण केसी, माओवादी प्रदेश सचिवालय सदस्य कुसुम बुढा, राजमो पूर्वसचिव तथा बागलुङ निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज कृष्ण अधिकारी, नेपाल समाजवादीका चित्र सापकोटा लगायतले पनि सम्बोधन गर्नुभएको राजमो पैयुँपाटा नगर अध्यक्ष थानेश्वर सुवेदीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका वडा अध्यक्ष चन्द्रबहादुर खत्रीको अध्यक्षता, माओवादी केन्दका रेशम केसीको सञ्चालन तथा राजमो पैयुँपाटा वडा समिति–१३ का अध्यक्ष प्रेम रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।