साओपाओलो । ब्राजिलमा कोभिड १९ विरुद्धको सङ्घर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको छ । पब्लिब सर्भिस इन्टरनेसनल (पिएसआई) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीको ज्यान गएको पाइएको छ ।
ती स्वास्थ्यकर्मीहरूको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरू ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।
ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसको निधन भएको देश हो । यहाँ छ लाख ८७ हजारभन्दा बढीको ज्यान गएको छ । कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित भएका देश भारत र अमेरिका हुन् तर कोभिडबाट भएको मृत्युदर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ ।
पिएसआइले विश्वका १५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ । यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्था पनि जम्मा पारेको बताएको छ । (रासस/सिन्ह्वा)