बगदाद । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रशिद निर्वाचित हुनुभएको छ । संसद्मा बिहीबार भएको मतदानपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको सभामुखले घोषणा गर्नुभएको हो ।
नयाँ राष्ट्रपति चयनका लागि संसद्मा दुईपटक मतदान भएको थियो । नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नुहुने छ । रशिदले उहाँलाई नै पराजित गर्नुभएको हो ।
मतदानमा सहभागी सांसदमध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद् यसअघि दुईपटकसम्म असफल भएको थियो ।
अहिले ७८ वर्ष उमेर पुग्नु भएका रशिद यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोत मन्त्री हुनुभएको थियो ।
देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ । (रासस/एएनआई)