मोगादिसु । सोमालियाली सेनाको कारबाहीमा परेर यहाँको आतङ्ककारी समूह अलसेबाबका १४ जना लडाकु मारिएका छन् ।
सोमाली नेसनल आर्मीले दिएको जानकारीअनुसार यहाँको लोवर साबेले क्षेत्रमा सो सेनाले गरेको अलसेबाब समूहका विरुद्धको कारबाहीमा परेर ती लडाका र एक जना वरिष्ठ कमान्डर पनि मारिएका हुन् ।
सो क्षेत्रमा विगतका केही समयदेखि उक्त आतङ्ककारी समूहले हिंसात्मक गतिविधि बढाएकाले यहाँको सेनाले कारबाही अगाडि बढाएको थियो । सेनाको यो कारबाहीका क्रममा यहाँको समूह मोहम्मद नुर सिरको ज्यान गएको थियो । उनी लोवर साबेले क्षेत्रको कमान्डर थिए ।
सोमाली नेसनल आर्मीले उक्त कमान्डरलाई नै लक्ष्य गरेर सो कारबाही अघि बढाएको जनाएको छ । कारबाहीका क्रममा ती कमान्डर मारिएको पनि सेनाले पुष्टि गरेको छ । अलकायदा समूहको सहयोगी यस आतङ्ककारी समूहले यहाँका सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीको हत्या गर्ने गरेका छन् ।
उनीहरुका विरुद्धमा सशक्त कारबाही अघि बढाउन सोमालियाका राष्ट्रपतिले केही महिनाअघि यहाँको सेनालाई कडा निर्देशन दिनुभएको थियो । त्यसलगत्तै गएका केही महिनायता देखि यहाँको सेनाले अलसेबाब आतङ्ककारी समूहका विरुद्धमा कारबाही थालेको हो । (रासस/सिन्हवा)