तेहरान । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण इरानी नागरिकको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दाबी गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले वासिङ्टनले लगाएको अन्धाधुन्ध प्रतिबन्धका कारण इरानी अधिकारी र सर्वसाधारण व्यक्तिसमेत निशानामा परेको र यसले उनीहरूको जीविकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर पारेको बताउनुभयो ।
कनानीले इन्स्टाग्राममार्फत गरेको सन्देशमा लेख्नुभएको छ– ‘हरेक दिन एउटा बहानामा इरान विरुद्ध प्रतिबन्धको नयाँ सूची जारी गरिन्छ । यसपटक इरानी गृहमन्त्री, सञ्चारमन्त्री र अन्य पाँच इरानी अधिकारीलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ ।’
एपिडर्मोलिसिस बुलोसा (इबी) बाट पीडित बालबालिकालाई समेत एकपक्षीय, गैरकानुनी, अन्यायपूर्ण प्रतिबन्धबाट छुट दिइएको छैन ।
बिहीबार अमेरिकी वित्त विभागले राजधानी तेहरानमा प्रहरी हिरासतमा एक युवतीको मृत्युपछि विरोध प्रदर्शनलाई दबाएको भन्दै इरानका आन्तरिक तथा सञ्चारमन्त्रीहरू क्रमशः अहमद वाहिदी र इसा जारेपोर तथा अन्य पाँच इरानी सुरक्षा अधिकारी विरुद्ध नयाँ प्रतिबन्ध जारी गरेको थियो । (रासस/सिन्ह्वा)