मस्को । क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रूपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुल पुनः सञ्चालनमा आएको छ । अक्टोबर ८, २०२२ शनिबार सो पुलमा कारबम विष्फोट गराइएको थियो ।
क्रेमलिनले सोही दिन युक्रेन आक्रमणको नेतृत्व गर्न नयाँ जनरल नियुक्त गर्ने घोषणा गरेको थियो । युद्धभूमिमा भएको शृङ्खलाबद्ध असफलताका कारण स्वदेशमा रुसी सेनाको आलोचना भएको समाचार आइरहेका समय सेनाका नेतृत्वमा फेरबदल पनि भएको हो ।
रुसी अनुसन्धानकर्ताका अनुसार १९ किलोमिटर लामो उक्त पुलमा शनिबार बिहान विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै तेलट्याङ्करमा आगजनी हुनुका साथै दुईओटा कारलेन भत्किएका थिए ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा विस्फोटबारे उल्लेख गर्नुभएन, साथै युक्रेनी सुरक्षा अधिकारीले यसको कुनै जिम्मेवारी लिएनन् ।
रुसका उपप्रधानमन्त्री मारात खुस्नुलिनले पुलको रेलमार्गमा यातायात पूर्ण रूपमा सुचारु भएको बताउनुभएको छ । खुस्नुलिनले टेलिग्राममा अघिल्लो पोस्टमा मालवाहक र यात्री यातायात दुवैका लागि सेवा पुनः सुरु भएको पुष्टि गर्नुभएको थियो । अझै अवरूद्ध रहेको क्षतिग्रस्त लेनमध्ये एउटालाई निकट भविष्यमा पुनः सञ्चालनमा ल्याइने बताइएको छ ।
स्थानीय अधिकारीहरूले यसअघि नै पुललाई कडा निगरानीमा सवारी साधनको साथ मोटर यातायातको लागि पुनः खोलिएको बताएका थिए, जबकि रेल अपरेटर ग्रान्ड सर्भिस एक्सप्रेसले पहिलो रेलहरू मस्को र सेन्ट पिटर्सबर्गका लागि प्रायद्वीपबाट प्रस्थान गरेको बताएको थियो ।
मस्कोको वक्तव्य आउनुभन्दा २४ घण्टाअघि सामाजिक सञ्जालको नाटकीय फुटेजमा पुलमा आगो लागेको र केही भाग पानीमा खसेको देखिएको थियो ।
मस्कोका अनुसार विस्फोटपछि एक अज्ञात व्यक्ति र एक महिलाको शव पानीबाट बाहिर निकालिएको थियो । अधिकारीहरूले ट्रकका मालिक रुसको दक्षिणी क्रास्नोडार क्षेत्रका बासिन्दा भएको र उनको घरमा खोजी भइरहेको बताएका छन् । (रासस/एएफपी)





