ब्राजाभिल्ले । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा आत्महत्याको दर रोक्न चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै सङ्गठनले यो अभियान थालेको हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन् । यो वार्षिक रूपमा लिइएको तथ्याङ्क हो । विश्वव्यापी रूपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ ।
यहाँ मानसिक रोग भएका नागरिकको सङ्ख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो ।
अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकमा मानसिक रोग छ । सन् १९९० मा मानसिक रोग भएका मानिसको सङ्ख्या पाँच करोड ३० लाख रहेकोमा अहिले यो सङ्ख्या बढेको हो । मानिसहरूको उपचार तथा उनीहरूका समस्याको सहजीकरण गरिने भएको छ ।
यहाँ सामाजिक सञ्जालबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो । यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो सङ्गठनले जनाएको छ ।
यहाँका आमसञ्चारका माध्यमका साथै सामाजिक सञ्जालमा चेतनामूलक सामग्री प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्री प्रेषित गरिने जनाइएको छ । त्यस्तै, मानसिक रोग भएकाको उपचारका लागि पनि विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देश र क्षेत्रमा अभियान थाल्ने जनाएको छ । (रासस/सिन्ह्वा)