एउटै व्यक्ति जम्प र दौडमा उत्तिकै सक्रिय । हुन त उनले काठमाडौंको मूलधारको खेलकुदमा पाइला चालेका छैनन् । परन्तु उनको मिहेनत, परिश्रम र लगनका साथै पारिवारिक वातावरणका कारण उनी उच्च स्तरको खेलाडी हुने प्रशस्त सम्भावना रहेका छन् । हो, अर्घाखाँचीका उनै विज्ञान खनालले एथलेटिक्समा पाइला चाल्न थालेको आधा दशक भएको छ । उमेरले टिनएज (किशोरावस्था) को सुरुमै छन् । विद्यालय तहमै उनले पाएको सफलतालाई आधार मान्दा उनीबाट थुप्रै महत्वपूर्ण सफलताको सम्भावना रहेको उनी निकट व्यक्तिहरुको मत छ ।
त्यसो त उनका बाबु पदम खनाल भलिबल खेलाडी थिए । अन्य आम नेपालीका झै पदमका पनि आफ्नै समस्या थिए । जसरी वैदेशिक रोजगार धेरैै नेपालीको बाँच्ने महत्वपूर्ण आधार बन्यो, त्यसैगरी पदमको पनि बन्यो । बाध्यताले विदेश होमिएका थिए १९ वर्ष अगाडि नै । हाल एचसीसी कम्पनीमा कार्यरत पदमले आफ्नो खेलाडी बन्ने चाहना र अधूरो सपना छोराबाट पूरा हुने सम्भावना देखे । यसैकारण छोराको खेल जीवनमा उनको पनि चासो रहेको छ ।
हाल ८ कक्षामा अध्ययनरत विज्ञान खेलकुदमा आवद्ध भएको ६ वर्ष भएको छ । उनले ऋषि अधिकारीबाट तेक्वान्दो खेल्न सिके भने एथलेटिक्समा पनि पाइला चाल्न थाले । दुवै खेलमा एकपछि अर्को सफलता पाउँदै जाँदा बाबु पदमलाई छोराको खेल जीवनबारे धेरै हौसला बढाउनु स्वभाविक थियो । यो ६ वर्षमा ६ थान भन्दा बढी सफल प्रदर्शन वापतका प्रमाणपत्र उनले जम्मा गरिरसकेका छन् । जुन सफलता जो कोहीका लागि प्रेरणा बन्न सक्दछ ।
गत वर्ष पाएका सफलता मध्ये दुई सफलता उनका लागि महत्वपूर्ण रहे । नेपाली सेनाले आयोजना गरेको ६ किलोमिटर खुला दौडमा विद्यालय तहमा उनले राम्रो प्रदर्शन गरे । आफू भन्दा अग्रजका सामू उनले कुनै पदक त जितेनन् तथापि उनको प्रदर्शनीले धेरैले एउटा नयाँ सम्भावनाको ढोका खोलेको आभाष गर्न थाले ।
अर्घाखाँचीको सन्धीखर्कमा रहेका गौरीशंकर इंग्लिस स्कूलमा उनी अध्ययनरत छन् । त्यसै विद्यालयले वार्षिक रुपमा गर्ने गरेको स्पोर्ट्स मिटमा विज्ञान पहिलो भए । यो सफलता उनले त्यत्तिकै पाएका होइनन् । त्यो सफलताका पछाडि एथलेटिक्सका विविध स्पर्धाका साथै तेक्वान्दो उत्कृष्ट प्रदर्शन पनि समावेश थियो । उनका सामू अहिले तेक्वान्दो र एथलेटिक्स दुवै खेलका लागि ढोका खुला भएका छन् । २०७६ मा उपराष्ट्रपति चिल्ड्रेन गेममा उनले थुप्रै सफलता पाए ।
अर्घाखाँची जिल्लाको यो खेल महोत्सवमा उनले २ सय मिटर दौडमा पहिलो स्थान पाए । ट्रिपलजम्पमा ९.९८ मिटर उफ्रेर पहिलो स्थान पाए । उनको यसै प्रदर्शनका कारण उनको टोली जिल्ला प्रथम भयो । उनी सो खेल मेलामा उत्कृष्ट खेलाडी बने । यसैगरी क्रिकेटमा पनि उनी संलग्न उनको विद्यालय पहिलो हुन सफल भयो ।
दैनिक ६ किलोमिटर कुदेर ६ देखि ८ बजेसम्म थप प्रशिक्षण गर्ने उनका लागि बाबु पदमले भरपूर सहयोग गरेका छन् । तर यो नै उनका लागि पर्याप्त नहुन सक्छ । १३ वर्षीय विज्ञानकै विचारमा राष्ट्रिय स्तरका दक्ष प्रशिक्षक उनलाई अबको आवश्यकता हो । यदि यस खालको प्रशिक्षक पाए खेलकुदमा नयाँ उचाइ थप्ने कुरामा उनी विश्वस्त छन् ।
त्यसो त नेपाली खेलकूदमा थुप्रै होनहार प्रतिभा नभएका होइनन् । अस्वभाविक प्रतिभाका साथै ठूलो दिलचस्पी हुनुका बावजुद राम्रो प्रशिक्षण नपाएको कारण, आर्थिक अवस्था कमजोर रहेको कारण र पारिवारिक वातावरण सही नभएको कारण खेल क्षेत्रबाट धेरै जना टाढा भएका छन् । अझै भनौं भने खेल क्षेत्रमा लामो समय लागिपरे पनि उल्लेखनीय सफलता पाएका छैनन् ।
विज्ञानको हकमा उनको बाबुको समर्पण महत्वपूर्ण हो भने उनको आफ्नै लगाव पनि छ । बाबुले आर्थिक समस्याका कारण खेल क्षेत्रबाट भाग्नुपर्ने अवस्था आउन दिएका छैनन् । यसकारण ती बालप्रतिभाले भने झैँ राम्रो प्रशिक्षणको अवसर पाएमा आगामी दिनमा नेपालले एउटा होनहार खेल प्रतिभा पाउने निश्चित् छ । (स्पोर्टस भ्वाइस)